Wednesday, April 18, 2018

त्रिदेशीय आर्थिक करिडोरको प्रस्ताव

चीनले नेपाल र भारतसहितको त्रिदेशीय आर्थिक करिडोर निर्माणका लागि बहुआयामिक सञ्जाल विस्तार गर्न प्रस्ताव अघि सारेको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटपछि बेइजिङमा पत्रकारलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले हिमालयपार सम्पर्क सञ्जाल बनाउने समझदारी भएको र त्यो तीन देशबीचको आर्थिक करिडोर बन्नसक्ने बताएका हुन् ।
“हामीलाई विश्वास छ राम्ररी विकास गरिएमा त्यस्तो सम्पर्क सन्जालले चीन, नेपाल र भारतलाई जोड्ने आर्थिक करिडोर बन्ने परिस्थिति सिर्जना गर्न सक्छ,” उनले भने, “यस्तोखालको सहकार्यले तीनै देशको विकास र समृद्धिमा योगदान गर्न सक्छ भन्ने हामीलाई आशा छ ।”
ज्ञवालीसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङले नेपाल र चीनले यसअघि नै बेल्ट र रोड परियोजनामा हस्ताक्षर गरिसकेको स्मरण गर्दै यसमा कनेक्टिभीटीमा सहकार्य पनि एक अंश भएको बताए । बेल्ट र रोड परियोजनामा दुई देशलाई जलमार्ग, रेलमार्ग, राजमार्ग, हवाईमार्ग, उर्जा र सञ्चारबाट दुई देशलाई जोड्ने योजना समावेश रहेको छ । यस्तै, वाङले उक्त अवसरमा तिब्बत हुँदै नेपाल जोड्ने रेलमार्ग निर्माणाधिन रहेको पनि जानकारी दिए । संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भेटवार्तामा नेपाल र चीनबीच हिमालय पार रेल्वे निर्माणको सम्भाव्यता छिट्टै अध्ययनबारे छलफल भएको बताए ।
“व्यापार र परिवाहन सम्झौताको प्रोटोकल ड्राफ्ट गर्नका लागि छलफललाई तीव्रता दिने र यसलाई चाँडै तात्विक निष्कर्षमा पु¥याउने विषयमा पनि समझदारी भएको छ,” ज्ञवालीले भने ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपाल र चीन जोड्ने रेलमार्गका लागि केरुङ काठमाडौँ र काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र डीपीआर तयार गर्ने विषयमा पनि दुई नेताबीच छलफल भएको जनाएको छ । साथै, वाङसँगको भेटमा मन्त्री ज्ञवालीले भविष्यमा दुई देशबीच थप नाकाहरू खुला गर्नुपर्ने र रसुवागढी–केरुङ र तातोपानी नाकाको स्तरोन्नति तथा तातोपानी नाका चाँडो खुलाउने विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । यस्तै, दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौताको कार्यान्वयनको पनि भेटमा समीक्षा भएको पनि जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि ज्ञवाली सोमबार ६ दिने चीन भ्रमणमा पुगेका हुन् ।

No comments: